+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी कर्मचारीलाई अब महिनामा २ पटक तलब भुक्तानी, नयाँ प्रणाली लागू

नियो खबर
२०८३ बैशाख २२, मंगलवार
काठमाडौँ– सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब भत्ता अब महिनामा दुई पटक (अर्धमासिक) भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ। यसका लागि महालेखा नियन्त्रक कार्यालय ले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र जारी गर्दै प्रत्येक महिनाको १५ दिन पुगेपछि अर्धमासिक रूपमा तलब भुक्तानी गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार यो व्यवस्था हाल परीक्षणका रूपमा कार्यान्वयनमा ल्याइएको हो। अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको नीतिगत मार्गदर्शन र अर्थ मन्त्रालयको वैशाख १६ गतेको स्वीकृतिपछि नयाँ प्रणाली लागू गरिएको उपमहालेखा नियन्त्रक कृष्णबहादुर अधिकारीले जानकारी दिएका छन्। नयाँ प्रणालीअनुसार कर्मचारीहरूले अब महिनाको अन्त्यसम्म कुर्नु नपर्ने भएको छ। महिनाको १५ दिन पुगेपछि पहिलो किस्ता र बाँकी तलब महिनाको अन्त्यमा भुक्तानी गरिनेछ। यसका लागि भुक्तानी प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाइसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। वैशाख २१ गतेको निर्णयअनुसार सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई सोही अनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको हो। यसअघि सरकारी कर्मचारीहरूले प्रत्येक महिना समाप्त भएपछि मात्र एकमुष्ट तलब पाउने व्यवस्था थियो। नयाँ व्यवस्था संघीय सरकार मातहतका सबै निकायमा लागू हुने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर