पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।
नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका–६ निवासी तथा नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार किरण श्रेष्ठ गम्भीर घाइते भएका थिए।
उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया