+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल आउने विदेशी सवारीका लागि अनलाइन अनुमति प्रणाली सुरु

नियो खबर
२०८३ बैशाख २२, मंगलवार

काठमाडौँ – नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अब आफ्ना सवारीसाधनका लागि अनलाइनमार्फत नै दर्ता अनुमति लिन सक्ने भएका छन्। सरकारले पर्यटकलाई सहज बनाउने उद्देश्यले यस्तो डिजिटल सेवा सुरु गरेको हो।

अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले स्थलमार्ग हुँदै नेपाल भित्रिने विदेशी सवारीसाधनका लागि अनलाइन विवरण भर्ने र राजस्व तिर्ने प्रणाली लागू गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।

नयाँ व्यवस्था लागू भएसँगै अब पर्यटकहरूले घरमै बसेर सवारीसाधनको विवरण भर्न, शुल्क तिर्न र अनुमति लिन सक्नेछन्। यसअघि भने भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने झन्झट थियो।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद मैनालीका अनुसार अब सवारीसाधनको इजाजत पूर्ण रूपमा डिजिटल बनेको छ। पर्यटकहरूले अनलाइन विवरण भरेपछि प्राप्त क्यूआर कोड देखाएर सजिलै नेपाल प्रवेश गर्न सक्नेछन्।

यात्रा अवधि सकिएपछि पनि अनलाइनबाटै अवधि थप गर्न सकिने सुविधा रहेको छ, जसले प्रक्रिया अझ सहज र पारदर्शी बनाउने विश्वास गरिएको छ।

सरकारका अनुसार यो प्रणालीले सीमामा हुने झन्झट घटाउने र पर्यटकलाई छरितो सेवा दिने लक्ष्य राखेको छ। हालका लागि यो सेवा भारतीय र तेस्रो मुलुकका पर्यटकका सवारीसाधनमा लागू गरिएको छ भने भविष्यमा थप विस्तार गरिने तयारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर