काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग ले मंगलबार देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
दिउँसो बाँके, दाङ, रूपन्देही, कपिलवस्तु लगायत आसपासका क्षेत्रमा तेज हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा भने कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट लगायत क्षेत्रमा पनि हावाहुरीको जोखिम रहने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र गण्डकी प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा तथा अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको पूर्वानुमानअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका केही स्थान तथा मधेस र बागमतीसहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, देशका अन्य भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पनि विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

प्रतिक्रिया