सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई बुधबार राति हेटौंडा–सिन्धुली सडक खण्डबाट भारततर्फ भाग्ने क्रममा नियन्त्रणमा लिएको हो ।
सिआईबीका अनुसार स्मार्टसेल घोटाला प्रकरणमा मुछिएका पाण्डे गत शनिबारदेखि मोबाइल बन्द गरेर फरार रहेका थिए । नेपाल सरकारको स्वामित्वमा आइसकेको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त पार्ने उद्देश्यले काम गरेको आरोपमा उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी र आपराधिक विश्वासघात कसुरमा पक्राउ गरिएको जनाइएको छ ।
पाण्डे नेपाल इन्भेस्टमेन्ट बैंकको ऋण असुली विभाग प्रमुख रहँदा स्मार्टसेल कम्पनीको लिलामी प्रक्रियामा संलग्न रहेको सिआईबीको दाबी छ । ललितपुर महानगरपालिका–१८ निवासी ६३ वर्षीय पाण्डेको पक्राउसँगै बैंकभित्र कर्जा दुरुपयोग भएको आशंकामा थप अनुसन्धानको माग समेत उठ्न थालेको छ ।


प्रतिक्रिया