चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उक्त सजाय तत्काल कार्यान्वयन नहुने र दुई वर्षपछि जन्मकैदमा रूपान्तरण गरिनेछ।
पूर्व रक्षामन्त्री वेइ फेङहे र ली साङ्फुलाई घुस लिने तथा भ्रष्टाचारसँग सम्बन्धित विभिन्न आरोपमा सैन्य अदालतले दोषी ठहर गरेको हो। अदालतका अनुसार वेइ फेङहेले ठूलो रकम घुस लिएका थिए भने ली साङ्फुले घुस स्वीकार गर्नुका साथै अनियमित प्रस्तावहरूलाई स्वीकृति दिएका थिए।
यो कारबाही राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चलिरहेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको सबैभन्दा कठोर कदममध्ये एक मानिएको छ।
अदालतको फैसलासँगै दुवै पूर्वमन्त्रीको राजनीतिक अधिकार जीवनभरका लागि खोसिएको छ भने सम्पत्ति पनि राज्यले जफत गरेको जनाइएको छ।
दुई वर्षपछि सजाय जन्मकैदमा रूपान्तरण भएपछि उनीहरू जीवनभर जेलमै रहनेछन्। सन् २०१२ देखि सुरु गरिएको भ्रष्टाचारविरोधी अभियानमा सैन्य उच्च अधिकारीविरुद्ध सुनाइएको यो सबैभन्दा कडा सजायमध्ये एक भएको बताइएको छ।

प्रतिक्रिया