+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबारमै म्याद गुज्रिएको दही बिक्री, ‘हाम्रो खाजा घर’लाई २ लाख जरिबाना

नियो खबर
२०८३ बैशाख २३, बुधबार

२३ वैशाख, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री भइरहेको फेला परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको आकस्मिक अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा जोखिम पार्ने गरी म्याद नाघेको दही बेचिरहेको ‘हाम्रो खाजा घर’ नामक चमेनागृहलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ।

विभागमा परेको उजुरीका आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ स्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणभित्र रहेको उक्त चमेनागृहमा अनुगमन गर्दा म्याद सकिएको दही बिक्रीका लागि राखिएको भेटिएको हो।

अनुगमनकै क्रममा दहीको उपभोग्य मिति समाप्त भइसकेको पुष्टि भएपछि विभागले तत्काल कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार कसुर ठहर गर्दै दफा ३९ (१) (ख) बमोजिम जरिबाना गरिएको विभागले जानकारी दिएको छ।

यसबाहेक, म्याद गुज्रिएको दही उत्पादन गर्ने श्रीकृष्ण डेरी फर्मलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ। डेरी सञ्चालकलाई तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र र सम्बन्धित बिक्री बिलसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर