काठमाडौं । नेपाल प्रहरी साइबर ब्यूरो को नाम दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले शनिबार (१९ गते) पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दिपक लिम्बू, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।
ब्यूरोका अनुसार ट्रु कलरमा ‘साइबर ब्यूरो’ नाम राखेर पीडितलाई फोन गर्ने, डर–त्रास र प्रलोभन देखाएर रकम पठाउन लगाउने जस्ता विद्युतीय ठगीका घटना बढेपछि उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा चारै जनाको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय धरान सँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हालका दिनमा अनलाइन ठगी गर्नेहरूले नयाँ–नयाँ तरिका अपनाउँदै सर्वसाधारणलाई लक्षित गरिरहेका छन्। प्रहरीकै नाम दुरुपयोग गरेर ठगी हुनु गम्भीर विषय बनेको छ भने सीमित स्रोतसाधन र आधुनिक प्रविधिको अभावका कारण यस्ता अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

प्रतिक्रिया