+
Search

ताजा अपडेट +

पपुलर +

पुलिस क्लबले जित्यो महिला गोल्डकपको उपाधि

नियो खबर
२०८३ बैशाख २०, आईतवार
पोखरामा पहिलोपटक आयोजित पोखरा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि आफ्नो नाममा लेखाएको हो। निर्धारित समयसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। १० खेलाडीमा सीमित भए पनि आर्मीले अन्तिमसम्म कडा संघर्ष गरेको थियो। खेलको २७औँ मिनेटमा आर्मी १० खेलाडीमा सीमित बनेको थियो। पुलिसकी निर्मला विकलाई आर्मीकी डिफेन्डर विमला विकले डी-एरियामा लडाएपछि रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएकी थिइन्। संख्यात्मक फाइदामा रहेको पुलिसले लगातार दबाब सिर्जना गरे पनि गोल गर्न सकेन। ६३औँ मिनेटमा रेखा पौडेलको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले उत्कृष्ट बचाउ गरिन्। त्यसपछि पनि पुलिसले थुप्रै अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा खेल टाइब्रेकरमा पुगेको थियो। १० खेलाडीमा सीमित आर्मीले पनि काउन्टर अट्याकमार्फत अवसर बनाएको थियो तर गोलमा परिणत गर्न सकेन।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर