बागमती नगरपालिका–२ स्थित धरहरा चौक नजिक नयाँ रोड–बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा करिब ७५ वर्षीय स्थानीय हरिबहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ गइरहेको भारतीय नम्बर प्लेट (बीआर ३३ बीएफ ७८२१) को मोटरसाइकलले साँझ करिब ६ बजे पैदल हिँडिरहेका अधिकारीलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीरगन्ज लगिएको थियो। पछि थप उपचारका लागि बारा स्थित एलएस न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका–२ का करिब २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया