पोखरामा बालबालिकालाई लक्षित गरी भएको एक दर्दनाक चोरी घटनामा कास्की प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर जुस र आइसक्रिम खुवाई करिब १ लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा चोरी गरिएको थियो।
अनुसन्धानका क्रममा CCTV फुटेजमा पहेँलो रेनकोट लगाएकी महिलाले ग २५ प ३५८४ नम्बरको स्कुटर प्रयोग गरेको देखिएको थियो। पछि उक्त स्कुटर ‘A One Motorbike Rental’ बाट भाडामा लिइएको पुष्टि भएपछि अनुसन्धान थप तीव्र बनाइएको थियो।
प्रहरीले स्याङ्जा घर भई हाल पोखरा रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगरलाई वैशाख १७ गते महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी महिलामाथि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अभिभावकहरूका लागि महत्वपूर्ण सन्देश:
- बालबालिकालाई अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान सिकाउनुहोस्
- “म तिम्रो आमाबुबाको साथी हुँ” भन्ने दाबीलाई विश्वास नगर्न बुझाउनुहोस्
- साना बालबालिकालाई महँगा गहना लगाएर एक्लै नछोड्नुहोस्

प्रतिक्रिया